नन्द न्युज सम्वाददाता ६ साउन ,फिल्म ‘सम्राट पृथ्वीराज’ बाट अभिनय करियर सुरु गरेकी पूर्व मिस वर्ल्ड मानुषी छिल्लर ‘तेहरान’ मा पनि देखिने भएकी छन् । फिल्ममा उनी जोन अब्राहमका साथ मुख्य भूमिकामा देखिन लागेकी हुन् ।
मानुषीले जोनसँग फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मका निर्माताले फिल्मको सेटबाट मानुषीसहितको तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनी अब्राहमसँग देखिएकी छन् । तस्बिरमा मानुषी र जोन दुबैको हातमा पेस्तोल देख्न सकिन्छ ।
अरुण गोपालनको निर्देशन रहने फिल्म दिनेश विजनले निर्माण गर्न लागेका हुन् । फिल्मको कथा आशिष प्रकाश वर्माले लेखेका हुन् । फिल्म एक्सन थ्रिलर विषयमा निर्माण हुन लागेको हो । चन्द्रप्रकाश द्विवेदीको फिल्म ‘सम्राट पृथ्वीराज’ मा मानुषी छिल्लरले संयोगिताको भूमिका निभाएकी छिन् । तेहरान उनको भुमिका अहिले बाहिर ल्याइएको छैन । यो बाहेक उनी चाँडै अभिनेता विक्की कौशलको अपोजिटमा ‘द ग्रेट इन्डियन फ्यामिलीमा’ समेत देखिने छिन् ।