नन्द न्युज डट कम् ७ पुस,
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पोखराको लेखनाथमा आजदेखि १८ औँ संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ। पुस १८ गतेसम्म चल्ने महोत्सवको बिहीबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो। पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजक रहेको महोत्सवलाई पर्यटन बोर्ड नेपालले प्रवर्धन गरेको छ ।
सुन्तला विक्री गरेर भएको महोत्सवको १८ औ संस्करण सम्म आइपुगेको छ । महोत्सवमा विभिन्न जातीय भेषभुषा, कला र संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने र विशेष आन्तरिक पर्यटनलाई बढवा दिइने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।
यस्तै महोत्सवमा जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज र संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रतियोगिता, झाँकी याली, भेसभुसा प्रदर्शनी, हास्यव्यङ्ग्य प्रहसन, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक तथा दोहोरी कार्यक्रम र युवाका लागि लक्षित लाइभ कन्सर्ट पनि सञ्चालन हुनेछन् ।
महोत्सव विगत वर्षहरुमा कोभिडका कारण रोकीएको थियो । लेखनाथ महोत्सवले लेखनाथ क्षेत्रको व्यापारमा वृद्धि गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । अहिले महोत्सवमा तीन सय ३७ वटा स्टलहरू रहेका छन् भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
महोत्सवमा करिब १० करोडको आर्थिक कारोबार हुने अनुमान छ। त्यसबाट आयोजकलाई ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च हुन सक्ने छ । १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणमा पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थलहरूको प्रवर्धन लगायतका क्षेत्रमा खर्च गरिने लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ।