नन्द न्युज डट कम फागुन १६, सुजन श्रेष्ठ विभिन्न संघ संस्था को नेतृत्व गर्दै आएका छन् । आफू स्वयम संघलन भएको पेसा व्यवसाय को नेतृत्व गर्दा थप उर्जा सहित काम गर्ने बताएका छन् ।
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीको अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै निर्वाचनले वरिष्ठ उपाध्यक्षमा घनश्याम गौतम, उपाध्यक्षमा अर्जुन थापा, महासचिवमा विक्रम पोख्रेल, सचिवमा धिरज श्रेष्ठ, कोषाध्यक्षमा सागिर अलि, सह–कोषाध्यक्षमा निरज खनाललगायत १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघका निवर्तमान अध्यक्ष सोभित बिकको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पञ्चराम गुरुङले गरेका थिए । कार्यक्रममा पोखरा तथा आसपासका करिब पाँच दर्जनभन्दा बढी वैदेशिक रोजगार व्यवसायी र कर्मचारीसहित सयौंको उपस्थिति रहेको थियोे ।
संघ साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरूङले आफू पनि विदेशमा पसिना बेचेर आएको भन्दै आफूलाई श्रम र वैदेशिक रोजगारीको बाध्यता र पीडा जानकारी रहेको बताए । उनले रेमिट्यान्समार्फत वैदेशिक रोजगारले राज्यलाई दिएको योगदानको अवमूल्यन गरिनु न्यायोचित नहुने भन्दै यसभित्र रहेका कमी कमजोरी हटाउन सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताए ।
कार्यक्रममा संघका पूर्वसचिव जगत मोहन गिरी, मेडिकल व्यवसायी प्रवेशचन्द्र उप्रेतीलगायत व्यवसायीले वैदेशिक रोजगारले रेमिट्यान्समार्फत गरिबको घरमा खरको छानो बदलेर टिनको छानो फेर्नेदेखि राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनीहरूले अनधिकृतरूपमा खोलिएका म्यानपावर कार्यालय र उनीहरूका एजेन्टलगायतले गरेको गलत कामको दोष वैधानिक ढंगले विदेशमा कामदार पठाउने कम्पनीका शाखा सञ्चालकलाई दिन नहुने माग गरेका छन् ।
वैदशिक रोजगार देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भइरहेको अवस्थामा सरकारी पक्षले अवैधानिक र वैधानिक पक्षको विश्लेषण गरेर व्यवहार गर्नुपर्नेमा पनि उनीहरूको जोड रहेको छ । संघका सचिव शा मोहम्मदले कार्यक्रम सञ्चालन गरेका थिए ।