नन्द न्युज डट कम नेपाल पिछडाबर्ग (OBC) महासंघले आफ्ना विभिन्न पाँचबुँदे माग राख्दै फागुन १९ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेको आन्दोलन आइतबार २१औं दिनमा प्रवेश गरेको छ। महासंघका नेताहरूले सरकार आफ्नो मागप्रति संवेदनशील नभएको भन्दै कडा संघर्षको चेतावनी दिएका छन्।
महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले सरकार निरन्तर आन्दोलनरत नागरिकको आवाज नसुन्ने र बेवास्ता गर्ने प्रवृत्तिबाट नहटेको आरोप लगाए। “हामीले पटक–पटक आफ्ना मागहरु सरकारसमक्ष राख्यौं, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। अब हामीलाई अझ कडा आन्दोलनमा जान बाध्य बनाइँदैछ,” ठाकुरले भने।
महासंघले उठाएका पाँचबुँदे मागमा पिछडाबर्गको पहिचान, समानुपातिक अवसर, संविधानअनुसार अधिकारको प्रत्याभूति, शिक्षा तथा रोजगारीमा आरक्षणको सुनिश्चितता लगायतका विषय समेटिएका छन्।
धर्ना दिन थालेको लामो समय बितिसक्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै महासंघले आगामी दिनमा आन्दोलनको स्वरुप अझ सशक्त बनाउने चेतावनी दिएको छ। आन्दोलनरत पक्षले माग पूरा नहुन्जेल संघर्ष जारी राख्ने अडान दोहोर्याएका छन्।